नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको श्रावण २३ देखि भाद्र १६ गतेसम्म सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा संचालन भएको बैठक आज सम्पन्न भयो ।
बैठकको निर्णयहरू :
(१)
(२)
२०८० फागुण ७ देखि १० गतेसम्म गोदावरी ललितपुरमा सम्पन्न नेपाली कांग्रेसको महासमितिको बैठकमा केन्द्रीय कार्यसमितिको तर्फबाट उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत "नीति प्रस्ताव", महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत "सांगठनिक प्रस्ताव” र महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत "समसामयिक राजनैतिक प्रस्ताव" उपर महासमितिको बैठकमा वृहत छलफलबाट प्राप्त सुझावका आधारमा आवश्यक परिमार्जन गरी प्रस्तुत परिमार्जित प्रस्ताव केन्द्रीय कार्यसमितिको यो बैठकबाट सर्वसम्मत पारित गरियो ।
नेपाली कांग्रेस र नेकपा (एमाले) बीच २०८१ असार १७ गते भएको ७ बुँदे सहमति पश्चात सहमतिमा उल्लेखित “संविधान प्रारम्भ भए पश्चात अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने" भन्ने लगायतका विषयलाई लिएर गरिएका टिका- टिप्पणी र सिर्जना गरिएका भ्रमप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।
७ बुँदे सहमति राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तिव्रता दिन राजनैतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समानुपातिक समावेशी प्रतिनिधित्वलाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्ने उद्देश्य प्राप्तिका लागि हो भन्ने कुरामा नेपाली कांग्रेस प्रष्ट छ र उक्त सहमतिलाई कार्यान्वयन गर्न नेपाली कांग्रेसको यो बैठक पुनः दृढता व्यक्त गर्दछ ।
साथै, हाम्रै नेतृत्वमा बनेको संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको स्वामित्व र यसको रक्षा एवं कार्यान्वयनको मूल दायित्व नेपाली कांग्रेसको नै हो भन्ने कुरालाई हृदयंगम गर्दै संविधान संशोधन गर्दा यसको कार्यान्वयनमा देखिएका चुनौति र जटिलताको समीक्षा गर्दै संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र वास्तविक रुपमा संविधानको मर्म बमोजिम सबै जाति, भाषा, लिङ्ग, धर्म, क्षेत्र, समुदाय, वर्गको समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितता गर्ने गरी नेपाली कांग्रेसले सघन छलफल गर्नेछ र त्यसको पहलकदमी नेपाली कांग्रेसले लिनेछ । संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न निर्माण र परिमार्जन गर्न बाँकी रहेका कानूनहरूको प्रकृया अविलम्व प्रारम्भ गर्न नेपाली कांग्रेस आफ्नो स्पष्ट दृष्टिकोण र प्रतिवद्धता दोहोऱ्याउँदै त्यसमा अग्रसरता लिने निर्णय गर्दछ ।
अतः यस सन्दर्भमा कुनै पनि भ्रममा नपर्न र राजनीतिक संकट सिर्जना गरेर मुलुकलाई पछाडि धकेल्न उद्दत संविधान विरोधी प्रवृत्तिबाट हमेशा सचेत रहन आम नेपाली जनता, सम्पूर्ण सरोकार राख्ने समूह, समुदाय र राजनीतिक दलहरूलाई नेपाली कांग्रेस विशेष आग्रह गर्दछ ।